Logo

भुसाललाई पार्टीमा भित्र्याउने नेपालको तयारी



काठमाडौँ, २१ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ । एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका छन् । बुधबार कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालले भुसाललाई आफूहरूसँगै अगाडि बढ्न प्रस्ताव गरेको स्रोतले बतायो । पार्टीमा राम्रो पोर्टफोलियोमा बसेर काम गर्न नेता भुसाललाई अध्यक्ष नेपालले प्रस्ताव गरेको स्रोतको भनाइ छ ।

मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरे पनि एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए ।

भुसालले एमालेभित्र फरक मत राख्दै आएका थिए । माधव नेपाल एमालेबाट अलग भएपछि भुसाललगायत नेताहरू नेपालसँगै आउने कुरा भए पनि अन्तिम समयमा भुसाल एमालेमै बसेका थिए । त्यस्तै नेता भुसाललाई अध्यक्ष नेपालले पार्टी एकीकरणका विषयमा पनि जानकारी गराएका थिए । उनले पार्टी एकीकरणमा गए पनि एकताबाट बन्ने नयाँ पार्टीमा आबद्ध भएर काम गर्न भुसाललाई आग्रह गरेका थिए ।

माधव नेपाल नेतृत्वको पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एकीकरण गर्ने विषयमा अन्तिम तयारी गरेका छन् । संसदमा चौथो ठूलो दल बन्नका लागि दुई पार्टी मर्जरको तयारीमा रहेको स्रोत बताउँछ ।

त्यसका लागि दुवै पार्टीले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरण गर्न सकिने निर्णयसमेत गरेको थियो । एकीकृत समाजवादीको दुई दिन चलेको पोलिटव्युरो बैठकले विचार मिल्ने पार्टीसँग एकता गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्