जाजरकोट, २३ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तक्रियामा उनले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुन: निर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने बताएका हुन् ।
पुनःनिर्माणको अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री बस्नेतले तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।
राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्य भएको उनको भनाइ थियो । ठूला ढुवानीका साधन पालिकाको सदमुकामसम्म पुग्नसक्ने अवस्था नभएकाले राहत व्यवस्थापनमा ढिला भएको उनले बताए ।
सानो हेलिकप्टर प्रयोग गर्दा राहत सामग्री थोरैमात्र ढुवानी भएको मन्त्री बस्नेतले जानकारी दिए । बाहिरबाट आएका सामग्री एकद्वार प्रणालीबाट सबै ठाउँका परिचालन गर्न पठाइएको जनाउँदै उनले सदरमुकामबाट पठाइएका सामग्री जाम भएपछि समस्य आएको बताएका हुन् ।
सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट पीडितसम्म पुग्नका लागि समय लागेको मन्त्री बस्नेतको भनाइ थियो । वडाध्यक्षले वडा सदस्यलाई समेत परिचालन गरेर सामग्री वितरण गर्नुपर्नेमा उनले जोड दिए ।
केन्द्रबिन्दुमा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको मन्त्री बस्नेतले बताए । बारेकोट, कुशे गाउँपालिकामा त्रिपालको समस्या देखिएको भन्दै खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बारेकोटमा बढी देखिएको उनले बताएका थिए ।
जाजरकोट र रुकुमपश्चिममा भएको क्षतिलाई एउटा योजना बनाएर पुन:निर्माणको काम गरिने मन्त्री बस्नेतले समितिलाई जानकारी गराए । पुन:निर्माण तथा पुन:स्थापनाको कामलाई गति दिन समस्या भइरहेको उनको भनाइ थियो । बढी चिसो भएमा पीडितलाई अस्थायी सेन्टर स्थापना गरी व्यवस्थापनको काम गरिने उनले जानकारी दिए ।
मन्त्री बस्नेतले दु:खमा साथ दिने, योगदान गर्ने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई जाजरकोटको प्रतिनिधिका हिसाबले धन्यवादसमेत दिए ।







