रुकुम पश्चिम, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज विहान जाजरकोट र रुकुम पश्चिम आइपुगेका प्रधानमन्त्री दाहालले सोही क्रममा रुकुम पश्चिमको विभिन्न अस्पतालमा रहेका घाइतेलाई भेटेका हुन् ।
बिहान जाजरकोट पुगेका प्रधानमन्त्री दाहाल खलङ्गामा रहेको जिल्ला अस्पतालमा घाइतेलाई भेट गरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको मिसन अस्पतालमा पुगेका थिए ।
उनले जाजरकोटबाट केही घाइतेलाई आफू चढेको हेलिकोप्टरमा उद्धार गरेर चौरजहारीसम्म पु¥याएका थिए । चौरजहारीबाट ती घाइतेलाई सुर्खेत अस्पताल लगिएको छ । चौरजहारी अस्पतालमा घाइतेलाई भेट गरेका प्रधानमन्त्री दाहाल सानीभेरी गाउँपालिकामा रहेको पालिका अस्पताल छोटेबगर, जिल्ला अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुकुमपश्चिम र जाजरकोटले ठूलो विपत्ति भोग्नुपरेको भन्दै नआत्तिन आग्रह गरेका थिए । “भूकम्पका कारण भएको क्षतिप्रति हामी दु:खी छौँ । सरकारले तपाईंहरुका लागि उद्धार, राहत र अन्य विभिन्न कार्यक्रम गर्नेछ । तपाईंहरु नआत्तिनु होला”, प्रधानमन्त्री दाहालले भने ।
त्यस्तै उनले सरकार भूकम्पपीडितको साथमा रहेको बताए । भूकम्प गएको थाहा पाउनेबित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागिपरेको उनको भनाइ थियो ।
भूकम्पपीडितलाई भेट्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा पनि प्रधानमन्त्रीसँगै यहाँ आइपुगेका थिए ।







