Logo

भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौँ, २० कात्तिक । नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिन बराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्ने छ ।

भूकम्प प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ । कार्यदलमा सांसद अमरबहादुर थापा, नन्दा चपाँई र धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्कालगायत रुकुमपश्चिम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षसहितको टोली रहने प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्