Logo

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा सहयोगको अपिल



अफगानिस्तान, ९ असार । भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको मृत्यु भएको छ ।

तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगको अपिल गरेको हो ।

तालीबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलमा रहेको युनिसेफ कार्यालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

भूकम्पले भत्काएका संरचनाभित्र के-कति मानिस पुरिएका छन् भन्नेबारेमा पूर्ण जानकारी आइसकेको छैन । घाइतेको उपचार भइरहेको छ । उद्धार तथा व्यवस्थापनको काम पनि भइरहेको छ । तर घरबासविहीनलाई सुरक्षित ठाउँमा राख्ने काम चुनौतीपूर्ण रहेको तालीबान सरकारले जनाएको छ ।

भूकम्पलगत्तै ठूलो पानी समेत परेको छ । यसले पनि उद्धार र खोजीमा थप समस्या पारेको छ । अफगानिस्तानको दक्षिण पूर्वी पङ्क्तिका प्रान्तमा भूकम्पले सबैभन्दा धेरै क्षति गरेको छ ।दुर्गममा रहेका गाउँहरूमा अझै आवश्यक सहयोग र निकायहरु पुग्न सकेका छैनन् । ती ठाउँमा घाइते भएकाहरुलाई हेलिकप्टर प्रयोग गरेर अस्पताल लगिएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । मानिसहरू सुतिरहेका बेला मङ्गलवार राति साढे एक बजे भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्