Logo

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन: डा.महत



काठमाडौँ, १८ कात्तिक । अर्थमन्त्री डा.प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा सरकारका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उनले गएरातिदेखि नै भूकम्पपीडितको राहत र उद्धारमा तीनै तहका सरकारअन्तर्गत सबै संयन्त्रहरु परिचालित भइरहेको जानकारी दिए ।

भूकम्पबाट पश्चिम नेपालको खासगरी रुकुम र जाजरकोट जिल्लामा ठूलो जनधनको क्षति भएको विवरणहरु प्राप्त भइरहेको जनाउँदै अर्थमन्त्री डा.महतले यस विपत्तिको घडीमा सबै पक्षबाट सहयोगका लागि अपिल गरे । उनले भूकम्पबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदन प्रकट गरेका हुन् ।

अर्थमन्त्री डा.महतले प्राकृतिक विपत्तिका घटनाको दीर्घकालीन समाधान र तयारीका निम्ति आवश्यक कार्य गर्न जरुरी भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्