Logo

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा नि:शुल्क



काठमाडौँ, १८ कात्तिक । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा नि:शुल्क गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज नि:शुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ ।

कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरुपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि नि:शुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि नि:शुल्क भ्वाइस तथा एसएमएस सेवासहितको नि:शुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुने उनले बताए । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकअनुसार नि:शुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्