Logo

भूकम्पपीडित शोक र पीडामा: तिहारको छैन रौनक



जाजरकोट, २८ कार्तिक । देशका धेरैजसो ठाउँमा तिहारको रमझम छ । देउसीभैलोले वातावरण रमाइलो बनाइरहेको छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमा भने न देउसीभैलोको रौनक छ न तिहारको रमझम ।

चिसो सिरेठोमा खुला आकाशमुनि पालको भरमा बसिरहेका भूकम्प पीडितले कष्टकर दैनिकी बिताइरहेका छन् । भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक दीपावली मनाउने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकाशमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौ-धौ छ ।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो। कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटमा झण्डै ५५ हजार र प्रदेशभरि झण्डै ६५ हजार घरधुरी विस्थापित भएका छन् । विस्थापित सबैको बास भनेकै पालमुनि हो ।

दशैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् । भूकम्पपीडितले लक्ष्मी पूजाको दिन आइतवार पालमुनि नै दीप प्रज्वलन गरेर लक्ष्मीको पूजा गरे । तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको जाजरकोट कुशे गाउँपालिकाका कालीबहादुर सिंहले बताए ।

भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुन:स्थापना तथा पुन:निर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने भूकम्प प्रभावितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्