Logo

भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतलाई आग्रह



काठमाडौँ, ३० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् ।

जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट पनि चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरेका छन् ।

पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै उहाँहरुको नेपाल बसाई सुखद् रहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री किराती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गरेका थिए । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको पर्यटन बोर्डले विज्ञप्ति मार्फत जनाएको छ ।

कोरोना महामारीपछि चीनबाट पहिलो पटक चार्टर्ड उडानबाट चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ राजदूत सोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाइको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैँ सकारात्मक भएको बताए ।

उनले कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमश: बढ्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्