Logo

भोजपुरका लागि उडेको विमान काठमाडौँ नै फर्कियो



काठमाडौँ, २ मंसिर । काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा थर्कने समस्या भएपछि बाटोबाटै फर्किएको छ ।

फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाजमा ‘भाइब्रेशन’ अर्थात् थर्किने समस्या देखिएपछि काठमाडौँ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

१५ जना यात्रु बोकेर उडिरहेको निगमको विमान उडेलगत्तै समस्या देखिएपछि काठमाडौँ नै फर्किएको उनले बताए ।

निगमको विमान ग्राउन्डेड भएपछि अर्को विमान नहुँदा काठमाडौँबाट भोजपुर जाने र भोजपुरबाट काठमाडौँ फर्कने दुवैतर्फका यात्रु अलपत्र परेका छन् । ट्विनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी दुई गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् ।

अहिले विमान मर्मतको काम भइरहेको प्राधिकरणले जनाएको छ । निगमले ट्विनअटरले उडान भर्ने शनिवारको उडान स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्