
भोजपुर , ४ जेठ । भोजपुर जिल्लाको नौ वटै स्थानीय तहको निर्वाचनको मत गणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सात ओटो गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
यहाँ एमाले र काङग्रेसले तीन/तीन, नेकपा (माओवादी केन्द्र) दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिकामा एमालेले, भोजपुर नगरपालिका, अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट काङ्ग्रसले जित हासिल गरेको छ । आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा माओवादीले जित हासिल गरेको छ ।
आमचोकमा माओवादी एक्लै लडेको हो, भने रामप्रसादराईमा काङ्ग्रेस माओवादीले गठबन्धन गरेका थिए । यता साल्पासिलिछो गाउँपालिकामा भने स्वस्त्र उम्मेदवार बिजयी बनेका छन् । एमालेले टिकट नदिएपछि स्वतन्त्त उठेका दौलथ कुलुङ विजयी बनेका हुन् । भोजपुर नगरपालिकामा काङ्ग्रेसबाट मेयरमा कैलाशकुमार आले पाँच हजार ६१५ मत प्राप्त विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तामाङले पाँच हजार १०० मत ल्याए । त्यस्तै उप–मेयरमा एमालेकी निर्मला शेर्पा विजयी बनेकी छिन् । शेर्पाले रुख चिन्हबाट उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)की ममिता राईलाई पाँच हजार ५०० पराजित गरिन् । शेर्पाकी निकटतम प्रतिद्वन्द्वी राईले पाँच हजार १३३ मत प्राप्त गरिन् । षडानन्द नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै एमालेका सुरेन्द्र कुमार उदास बिजयी बने । उदासले छ हजार ७७२ मत ल्याए भने गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका बिरवल राईले पाँच हजार ७५७ मत ल्याएर पराजित भए । उप–मेयरमा सत्तारुढ गठबन्धनकी माओवादी उम्मेदवार प्रमिला राई विजयी बनिन् । राईले सात हजार २५७ मत ल्याएर विजयी बने । उनकी निकटतम् प्रतिद्धन्द्धी एमालेकी मेरीका राईले ४३ सय ५८ मत प्राप्त गरिन् ।
पौवादुङमा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी बने । उनले दुई हजार ४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले एक हजार ६८८ मत र नेपाली काङ्गेसका टेक नरसिं कार्कीले एक हजार ३७१ मत ल्याए । उपाध्यक्षमा एमालेकै ज्योत्सना राई दुई हजार ४०६ मत ल्याएर विजयी बनिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ र कांग्रेसकी रामकुमारी राईले १३८७ मत प्राप्त गरिन् ।
हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी बने । उनी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित बनेका हुन् । उनले कांग्रेसका कार्कीलाई अध्यक्ष पदमा ६८९ मतले हराए । राईले चार हजार ४२ मत पाए भने कार्की तीन हजार ३५३ मत ल्याएर पराजित भए । उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीकी सुनिता किराती तीन हजार ७०७ मत विजयी बनिन् । राईकी निटतम प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ६११ मत ल्याएर पराजित भइन् ।
टेम्केमैयुङ गाउँपालिकामा अध्यक्षमा गठबन्धनको तर्फबाट काङ्ग्रेसका सरोज बस्नेत विजयी बने । बस्नेत तीन हजार ९८० मत ल्याएर विजयी बने भने एमालेका ध्रुवराज राई तीन हजार २८८ मत ल्याएर पराजित भए । उपाध्यक्षमा एमालेकी रमादेवी राई विजयी बनिन् । राईले तीन हजार ३८८ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीकी इन्द्रवती राई तीन हजार २९८ मत ल्याएर पराजित बनिन् ।
अरुण गाउँपालिकामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । यहाँ अध्यक्षमा दुई हजार ८८७ मत ल्याएर शालिकराम खत्री र तीन हजार मत ल्याएर उपाध्यक्षमा वितिना ढकाल विजयी बनेका छन् । खत्रीका निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण घिमिरेले दुई हजार ४२४ मत ल्याए । उपाध्यक्षकी प्रत्यासी कविता राईले दुई हजार ५४४ मत ल्याइन् ।
रामप्रसादराई गाउँपालिकामा अध्यक्षमा गठबन्धनका साझ उम्मेदवार माओवादीका थाम बहादुर राई तीन हजार ७० मत ल्याएर विजयी बने । राईका निकटतम प्रतिद्वन्द्वी एमालेका बलराम राई दुई हजार ८५१ मत ल्याएर पराजित बने । उपाध्यक्षमा नेपाली काङ्ग्रेसका विरेन्द्र राई तीन हजार ५७७ मत ल्याएर विजयी बनिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला राईले दुई हजार २१४ मत ल्याइन् ।
आमचोक गाउँपालिकामा माओवादीले जित हासिल गरेको छ । यहाँ अध्यक्षमा तीन हजार ६८६ मत ल्याएर अशोक राई विजयी बने भने एमालेका बसन्त राईले तीन हजार२५८ मत ल्याएर पराजित बने । उपाध्यक्षमा सीता राई तीन हजार ५६१ मत ल्याएर विजयी बनिन् । उनका निकटतम प्रतिद्वन्द्वी छिरिङ शेर्पाले तीन हजार २४४ मत ल्याए ।
साल्पाछिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । यहाँ एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका दौलथ राई एक हजार ८२४ मत ल्याएर विजयी बनेका हुन् । यहाँ एमालेका शान्ति बहादुर अधिकारीले तीन हजार ३८३ र काङ्ग्रेसका महेश राईले तीन हजार ८६२ मत ल्याए ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी अस्मीता राई एक हजार ८६२ मत ल्याएर विजयी बनिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी रिता घलेले एक हजार ३९५ मत ल्याइन् ।
भोजपुुरमा ८१ ओटा वडा मध्ये सबै भन्दा धेरै ३२ ओटा एमाले, २८ ओटा काङ्ग्रेस, माओवादी १८, नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक÷एक ओटा र एउटा वडा स्वतन्त्रले जितेका छन् ।







