Logo

भोजपुरमा मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव



भोजपुर, २ माघ । भोजपुरमा मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव शुरू भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला शुरू भएको हो ।

मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम यही माघ ५ गते आउने शनिवारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्रीप्रसाद पाण्डेले उद्घाटन गदै देशको भाषा, संस्कार, संस्कृतिको विकास गरेर खुला सांस्कृतिक सङ्ग्रालयका रूपमा विकास गर्न सकिने बताउनुभयो । पर्यटनको मध्यमबाट आउँदा दिनमा हजारौं नागरिकलाई स्वरोजगार बनाउन सकिने उहाँको भनाइ छ ।

सरकारले देशका विभिन्न पदमार्गमा देश, विदेशका नागरिकलाई हिँडाउन चाहेको उहाँको भनाइ छ । पर्यटनको माध्यमबाट राज्यको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढाउन सकिने मन्त्री पाण्डले बताउनुभयो ।

मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका–४ को पर्यटकीय क्षेत्र चखेवा भञ्ज्याङमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको प्रदर्शनी राखिएको आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्