काठमाडौँ, २२ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्थानीय निर्वाचनमा नेताहरूको भूमिका मूल्यांकन नगरीकन मतदाताहरूलाई अन्तरघातीको आरोप लगाउन नहुने बताएका छन् ।
भुसालले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूको कमजोरीको मूल्यांकन हुनुपर्ने बताए । “मेरो मुद्दा व्यक्तिको मुद्दा नै होइन । कमरेड ओली मेरो पार्टीका अध्यक्ष हुनुहुन्छ । म उहाँलाई त्यस हिसाबले सम्मान गर्छु । तर, अध्यक्ष वा हामी सबै नेताहरू अहिलेको निर्वाचनमा हाम्रो भूमिका के भयो भन्ने मूल्यांकन नगरीकन अन्तरघात भयो,” उनले भने, “हाम्रा पार्टीका सबैलाई अन्तरघाती भोटरलाई अन्तरघाती भनेर हाम्रो दायित्व पूरा हुँदैन । हामीले हामीभित्रै के कमजोरी छन् भनेर हेर्न खोजेको हो । मैले प्रष्ट यति मात्रै उठाएको हो ।”
भुसालले अध्यक्ष ओलीको आलोचना गरेको र पार्टीको हितविपरित एक टेलिभिजनमा अन्तर्वार्ता दिएको भन्दै केन्द्रीय अनुशासन आयोगले कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
आयोगले गरेको निर्णयबारे आफूलाई जानकारी नभएको उनले बताए । “आयोगले के गरेको भन्ने औपचारिक जानकारी छैन । तर, आयोगका अध्यक्षले नै केही बोल्नुभयो भनेर मिडियामा आएको छ । यो विषयमा औपचारिक जानकारी आएपछि मात्रै बोल्छु । तर, अहिले के भइरहेको छ यसको जिम्मा हामी नेताहरूले दिनुपर्छ । यसको दोष सारा कार्यकर्तालाई जिम्मा लगाएर उम्किन हुँदैन,” उनले भने ।