Logo

भोलिदेखि संसद्को अवरोध हट्ने विश्वास छ: प्रधानमन्त्री



काठमाडौँ, २ भाद्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवारदेखि संसद्को अवरोध हट्नेमा आफू आशावादी रहेको बताएका छन् ।

स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पणपछि प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको र आज पनि अवरोध अन्त्यका लागि छलफल गर्ने बताएका हुन् ।

उनले आज बेलुका प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद्को गतिरोध खुलाउन प्रयास गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको बताए । उनले भने, ‘हामीले निरन्तर पहल गर्दै आएका छौँ, हिजो सभामुख बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी थप प्रयास गर्छौँ, आशा छ भोलि सदन खुल्छ ।’

एक महिना अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको तस्करीको सुन राजश्व अनुसन्धान विभागले जफत गरेको घटनाको छानबिनलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

सुनकाण्डको छानबिन गर्न उसले उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्