काठमाडौँ, ८ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यु टावरको अर्थ नबुझ्नेहरूले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले भ्यु टावरको अर्थ र महत्त्व नबुझेकै कारण नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनसम्बन्धी आफ्नो घोषणा पत्रमा भ्यु टावर बनाउदैनौँ भनेर उल्लेख गरेको जिकिरसमेत गरेका छन् ।
मीना श्रेष्ठले लेखेको कविता सङ्ग्रह ‘फर्गेट एस्टडे’ को आइतवार काठमाडौँमा विमोचन गर्दै उनले कांग्रेसले भ्यु टावरको विरोध गरेको भन्दै फ्रान्समा बनाइएको आइफल टावरले अरबौँ रुपैयाँ आम्दानी दिएको स्मरण गराएका छन् ।
ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको आइफल टावर, वाशिङ्टन टावर र अन्य ठाउँमा रहेका टावरहरूले अरबौँ रुपैयाँ दिने गरेको बताए । उनले भने, ‘एउटा पार्टीले भ्यु टावर बनाउँदैनौँ भनेर आफ्नो घोषणापत्रमै भन्यो । भ्यु टावरको काम छैन भन्यो । इन्जिनियरहरूले आइफल टावर बनाए । उनीहरू बुद्धि नभएका रहेछन् कि क्या हो? ’