काठमाडौँ, ७ वैशाख । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभा हल निर्माणमा बजेट नदिने भएको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यो वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणलाई निरन्तरता नदिने बताएकी हुन् । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू टावर र सभा हल निर्माणका लागि बजेट व्यवस्था नगर्ने उनले बताइन् ।
‘राज्यको असिमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्’, उनले भनिन्, त्यसैले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यू टावर र सभा हल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ ।’
मन्त्रालयले एकीकृत वस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ । एकीकृत वस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति गम्भीर रहेको भन्दै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर वस्ती विकास कार्यक्रम ल्याउने जानकारी दिइन् । उनले आगामी वर्षको नीति तथा कार्यक्रममा यसलाई वस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रूपान्तरण गर्न लागेको बताइन् ।