काठमाडौँ, २६ वैशाख । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा पनि नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुल गरी नेपालीलाई अमेरिका पठाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।
आजको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले कांग्रेस नेत्री आरजु राणा देउवालाई लक्षित गर्दै भ्रष्टाचारसँग कुनै लिङ्ग, जात र समुदाय नजोड्न आग्रह गरेकी छन् ।
आइतवारको बैठकमा नेत्री राणाले आफूलाई भ्रष्टाचारसँग जोडेर महिला हिंसा गरेको आरोप लगाएकी थिइन् । त्यही विषयलाई लिएर आज तोसिमा कार्कीले भन्नि, ‘एक महिला माननीयज्यूले टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्नुभयो, मलाई उत्तर दिनुपर्यो- भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ?’ कार्कीले पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोजेको आरोप लगाउँदै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत दलाली साबित गर्ने अनि के मुखले अनुदान माग्न जाने भनेर सोधेकी छन् ।







