Logo

भ्रष्टाचारविरुद्धको अभियान रोकिदैन: प्रधानमन्त्री



सुर्खेत, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् ।

समाजवादी मोर्चाले बिहीबार सुर्खेतमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रचण्डले यसलाई समाजवाद निर्माणको नयाँ अभियानका रुपमा अघि बढाइएको बताएका हुन् ।

‘भ्रष्टाचारविरुद्धको अभियान अब रोकिनेवाला छैन । समाजवाद निर्माणको नयाँ अभियानको रुपमा यसलाई अघि बढाइने छ ।’ उनले भने, ‘दायाँबायाँ तेरोमेरो केही पनि हेरिने छैन ।’

उनले सरकार आफ्नो प्राथमिकतामा नरहेको र सरकार जोगाउन नलागेको भन्दै राम्रो काम गर्दै अघि बढेको बताए ।

‘सरकार कतिसम्म चल्छ चल्दैन मलाई टेन्सन छैन। राम्रो कामको सुरुवात गर्छु‚ राम्रो काम गर्दा गर्दै कसले हटाउँदोरहेछ हेर्छु ।’ प्रचण्डले भने,‘अहिले आठमहिना भयो । झन् राम्रोतिर गइरहेको छ । माओवादीले आफ्ना मान्छे बचाउँछ कांग्रेस र एमालेलाई हान्छ भनेर हल्ला गरिएको छ । मैले सिआइबीलाई दोषी देखिए माओवादीका नेता कसैलाई नछोड, खोज्दै जाँदा बाटोमा प्रचण्ड भेटियो भने पनि नछोड भनेको छु ।’

आफूले गरेका राम्रा काम प्रतिक्रियावादी दलालहरुलाई सहीसक्नु नभएको भन्दै प्रचण्डले विरोध गर्न धुप हालेर बसेको जिकिर गरेका थिए ।

विगतका विभिन्न कालखण्डमा छुट्टिएका नेताहरुलाई एक ठाउँमा ल्याउन पाएकामा आफू सबैभन्दा बढी खुशी भएको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्