Logo

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाछौँ: लामिछाने



चितवन, २ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफूहरूले शून्य सहनशीलता अपनाउने बताएका छन् ।

वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवार बनेका लाछिमानेले शनिबार भरतपुर-४ धर्मचोकमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका हुन् ।

‘सबैभन्दा पहिलो त पार्टी भित्रको आन्तरिक  लोकतन्त्र बलियो हुनुपर्छ । कुनै पनि खराब काम गर्ने मान्छेलाई स्थान दिनु हँदैन भन्ने अवधारणा हामीले लिएर आएका छौं ।’ लामिछानेले भने, ‘हामी घुस खाएको प्रमाणित त छोडिदिनुस्, घुस खाने कुरा सपनामा सोच्यो भने पनि कारबाही गर्छौँ ।’

उनले पार्टीमा जोडिएका साथीहरू बाटो बिराउँदैनन् भन्नेमा विश्वस्त रहेको भन्दै लामिछानेले बाटो बिराउँदा कसैलाई पनि जोगाउन नलाग्ने बताए ।

इमानदार मान्छेलाई पार्टीमा स्वागत गर्न तयार रहेको भन्दै उनले इमानदार नभए घण्टा गनेर कारबाही हुने बताएका हुन् ।

‘घण्टी चिन्ह बोकेर जे पनि गर्छु भन्न पाइँदैन। घण्टी बोक्दैमा, घण्टी बजाउँदैमा इमानदार भनिन्छ भन्ने छैन । हामीले कारबाही गरेर देखाएका छौं’, उनले भने, ’घण्टी बोकेको होस् जोसुकै होस्, गलत गर्ने मान्छेलाई घण्टा गनेर कारबाही हुन्छ।’

उनले अहिले आफूले जित्ने परिस्थिती देखेर अत्तालिएका दलहरु सबै मिलेर आफ्नो पार्टीमाथि खनिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्