काभ्रेपलाञ्चोक, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताएका हुन् । ‘यसका लागि हिजोका दिनमा तपाईँहरूले दिएको साथ आज पनि चाहिएको छ । यसका लागि म तपाईँहरूसँग सहयोगको अपिल गर्न चाहन्छु ।’
उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको बताए । ‘अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो’, प्रधानमन्त्रीले भने, ‘देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली नागरिकले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’







