Logo

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री



काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताए । “जनताको ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनासमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्छ”, उनले भने । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पु¥याउन पुष्पलाल श्रेष्ठले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्ने उल्लेख गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट रहेको बताएका हुन्

“सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्व, जनवादी क्रान्तिको विकास, कम्युनिष्ट आन्दोलनको एकता, कम्युनिष्ट मूल्यमान्यता र संस्कृति निर्माणका निम्ति विचार तथा व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय रहँदै आएको छ”, प्रधानमन्त्री दाहालले भने ।

पुष्पलालका शिक्षालाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उनीप्रति सच्चा सम्मान हुने उनले उल्लेख गरे । राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानका क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्