काठमाडौँ, २० असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् ।
आज कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।
उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।”
पछिल्लो समय माओवादी शक्तिहरुबीचको एकताको राम्रो आधार बन्दै गइरहेको उल्लेख गर्दै उनले वृहत कम्युनिष्ट एकतासहित अगाडि बढिने बताए । “२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौँ तर, पार्टी एकताबद्ध हुनसकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो”, प्रधानमन्त्री दाहालले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र वृहत एकतासहित अगाडि बढिन्छ ।”
वर्तमान सरकारले जन चाहनाअनुसार आफ्नो काम कारबाही अगाडि बढाएको जनाउँदै उनले राम्रा काम गर्न थालेपछि सरकारलाई अप्ठ्यारोमा पार्ने षड्यन्त्र सुरु गरिएको बताए ।







