Logo

भ्रष्टाचारविरोधी अभियान जसले सुरु गरे पनि साथ दिन्छौं: लामिछाने



काठमाडौँ, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भ्रष्टाचार विरोधी अभियान जसले सुरु गरे पनि आफूहरूको साथ रहने बताएका छन् ।

भ्रष्टाचारविरुद्ध धर्ना दिन काठमाडौँको नक्सालस्थित नारायणचौरमा पुगेका लामिछानेले शनिबार पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

आफूहरूको एजेन्डा नै भ्रष्टाचार विरोधी अभियान रहेको भन्दै लामिछानेले प्रतिपक्षमा बसे पनि सरकारलाई साथ दिने बताए ।

‘अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई लजिकल इन्ड(निष्कर्ष) मा पुर्याएर फेरि अर्को फाइल सरकारले खोलोस्’, लामिछानेले भने, ‘हामी सरकारमा नगए पनि सधैं साथ दिन तयार छौं ।’

उनले आफूहरू रचनात्मक प्रतिपक्षमा बसेको भन्दै एजेन्डाका आधारमा मात्रै सरकारको विरोध र समर्थन हुने बताए ।

आफूहरूले भ्रष्टाचार प्रकरणमा मुछिएका सांसदलाई कारबाही गरेपछि सरकारलाई पनि भ्रष्टाचारीमाथि कारबाहीका लागि दबाब परेको उनको भनाइ छ ।

जस लिन खोज्यो भन्लान् नि ? भन्ने पत्रकारको प्रश्नमा लामिछानेले भने, जस त तपाइँ लिनुहोस् न मलाई चाहिँदैन। हाम्रो एजेन्डा नै भ्रष्टाचारविरोधी हो हामी यसमा सधैं अडिग रहन्छौं ।

प्रतिक्रिया दिनुहोस्