काठमाडौँ, ६ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उनका भनाइ छ ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेशको धुलिखेलमा आज भएको वार्षिक साधारणसभामा सम्बोन्धन गर्दै उनले भ्रष्टाचारको जालोलाई तोड्ने गरी काम गर्न सकेमा मात्रै सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्न सकिने बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीको नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वशर्त बनाउन आवश्यक रहेको भन्दै सुशासन र विकासको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।
आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर र अर्का देशको शरणार्थी बनाएर पैसा र सम्पत्ति आर्जन गर्ने धन्दामा लागेकाहरूलाई कारबाहीको दायरामा ल्याउने पहलकदमी गरिरहेको र ल्याइ छाड्ने उनले अठोट व्यक्त गरेका छन् ।
“भ्रष्टाचार नियन्त्रणसहितको सुशासनलाई समृद्धिको पूर्वशर्त बनाउनैपर्छ, त्यसलाई स्थापना गर्न सकेनौँ भने विकास र समृद्धिको लक्ष्य पूरा हुनै सक्दैन”, उनले भने, “सुशासन कायम गर्नका लागि सारा भ्रष्टाचारीलाई कारबाही गर्नैपर्छ, त्यसलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्नुपर्छ र कमिशनको स्वार्थको निम्ति राष्ट्रमाथि आयोजना थोपर्ने र सबै मिलेर देशलाई कमिशनको जालोबाट बर्बाद गर्ने प्रक्रियाबाट मुक्त पार्नुपर्छ ।”
सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको एकसूत्रीय लक्ष्य रहेको बताउँदै उनले त्यसको आधारमा अगाडि बढ्दै ‘निर्दोष नफसोस् र कुनै अपराधी नछुटोस्’ भन्ने मान्यतका आधारमा काम गरिरहेको स्पष्ट परेका हुन् । त्यसका लागि विगतका कमीकमजोरीलाई समीक्षा गर्दै दृढ सङ्कल्पका साथ आएको उनको भनाइ छ ।







