काठमाडौँ, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन् ।
आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताएका हुन् । उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए ।
महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए । सत्तारूढ र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रुपैयाँभन्दा कमको चार्ज नभएको उनले बताएका छन् ।
‘०६४-०६५ पछि म के देख्छु भने हरेक संगठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो । नेपालका प्रायजसो ट्रेड युनियनहरू या संगठनहरू नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने बन्यो। त्यो विद्यार्थीहरूको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरूले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो। सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरू तयार हुन्थे । मैले आरोप लगाएको होइन नेपालका मान्छेहरू यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन्? सबै जान्छन् नि पालोपालो,’ उनले भने ।
महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । उनले आफ्नो पार्टी र संगठनहरूमा भ्रष्टाचार नभएको दाबी गरेका थिए ।