
काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उनले सुशासनको प्रत्याभूति नागरिकले बालेर मात्रै महसुस नगर्ने भन्दै यसका लागि सरकारको काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
महामन्त्री थापाले भने, “कुनै घटना मात्रैका आधारमा संसद्ले पनि आफ्ना मत बनाउनुहुँदैन । सार्वजनिक जग्गा हडप्ने, कीर्ते नागरिकता बनाउने, सहकारीमा जनताले जम्मा गरेको रकम ठगी गर्ने काण्डमा संलग्न जोसुकै व्यक्ति, जुनसुकै दलको वा जतिसुकै आर्थिकरुपमा सम्पन्न होस्, त्यस्ता व्यक्तिलाई कानुनबमोजिम कारबाही हुनुपर्छ ।”
उनले संविधान कार्यान्वयनसँग जोडिएका कानुन बनाउन, अर्थतन्त्र चलायमान बनाउन, सङ्घीयता कार्यान्वयन गर्नेलगायत विषयमा सरकारले पनि प्रयत्न अघि बढाएको बताए । यस विषयमा संसद्ले पनि नयाँ ढङ्गले प्रभावकारी रुपमा बैठक सञ्चालन गर्ने योजना अघि बढाएको सन्दर्भमा सबै जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो । अब आरोप प्रत्यारोपभन्दा सकारात्मक रुपमा काम गर्न सबैलाई आग्रह गर्दै महामन्त्री थापाले आफ्नो पार्टीले पनि यस पटक थप जिम्मेवारीपूर्वक प्रस्तुत हुने सङ्कल्प गरेको अवगत गराएका थिए ।
मुलुकको शिक्षा क्षेत्रमा आमूल सुधार गरी व्यवहारिक बनाउन सकेमा केही हदसम्म अध्ययनका लागि विदेश जाने विद्यार्थी रोकिन सक्ने धारणा व्यक्त गर्दै उनले मुलुकमा दक्ष जनशक्ति उत्पादनका लागि पनि शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याए । “सदनमा सांसदले लोकरिझाइका लागि नभई मुलुक र जनताको हितका लागि समय तालिकामा काम गर्नुपर्नेछ । अनि मात्र हाम्रो जिम्मेवारी निर्वाह हुनेछ”, उनले भने । महामन्त्री थापाले स्वास्थ्य सेवालाई पनि गुणस्तरीय र सुलभ बनाएर आमजनतामा सेवा पु¥याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले आफूले केही दिन अघि मात्र पार्टीको अभियानका क्रममा मुलुकका विभिन्न स्थानमा पुग्दा पूर्वाधारको अवस्था बेहाल अवस्थामा भएको पाएको बताए । “हामीले पूर्वाधार समयमै निर्माण गर्न सकिरहेका छैनौँ, यो कुनै दल र व्यक्तिको मात्र सरोकारको विषय नभई समग्रतामा असफलता हो”, उनले भने, “यसमा कुनै कानुनमा समस्या भएमा त्यस्तो कानुन बदल्ने अधिकार यो संसद्सँग छ । यस पटक संसद्मा यस्ता विषयमा घनिभूतसँग छलफल गरेर समाधानको बाटो पहिल्याउनुपर्ने छ । अनिमात्र नागरिकमा परिवर्तनको आशा र भरोसा जाग्नेछ । यो सबैको जिम्मेवारी हो ।”
सरकार वा सम्बन्धित निकायले निर्देशन दिएर मात्र जनताका समस्या समाधान नहुने तर्क गर्दै महामन्त्री थापाले यसका लागि अतिरिक्त कार्य गर्नुपर्नेमा जोड दिए । काम गर्ने तरिका नबदली परिणाम फरक नआउने उनको भनाइ थियो ।
उनले रुसी सेनामा काम गर्न गएका युवाको उद्धारका लागि सरकारले थप पहल गर्नुपर्ने धारणा राखे । विभिन्न प्रलोभन दिएर रुसमा युवा लैजाने गिरोहलाई पनि कारबारी गर्न उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।





