काठमाडौँ, १० साउन । एमाले सांसद योगेश भट्टराईले मंकीपक्सको सङ्क्रमणबाट जोगिन सरकारले कुनै कदम नचालेको बताएका छन् ।
प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस सङ्क्रमण महामारीको विषयलाई लिएर सरकारले कुनै चासो नदेखाएको बताएका हुन् ।
२३ जुलाईमा विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्सको सङ्क्रमणलाई लिएर विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको स्मरण गर्दै उनले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए ।
विश्वभर १८ हजार १९४ जना मंकीपक्सका सङ्क्रमित रहेका र पाँच जनाको मृत्यु भइसकेको भन्दै सांसद भट्टराईले सीमा नाकासहितका स्थानमा सावधानी नअपनाएको बताए।
साथै मङ्गलवार बिहानसम्म काठमाडौँ उपत्यकामा ३४ जना हैजाका बिरामी रहेका र हैजा नियन्त्रणमा पनि सरकारले कुनै काम गर्न नसकेको उनको आरोप छ ।
पछिल्लो केही दिनयता कोरोनाभाइरस सङ्क्रमण पनि बढ्दै गएको भन्दै उनले कोभिड नियन्त्रणका लागि पनि सरकारबाट कुनै काम नभएको बताए । तत्काल मंकीपक्स, हैजा र कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि आवश्यक कार्य गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।







