Logo

मंगलबार भगवान् गणेशको पूजा: आराधना र व्रत बसेमा लाभ मिल्ने शास्त्रीय विश्वास



काठमाडौं, २२ पुष । हिन्दू धर्मशास्त्रका अनुसार मंगलबार भगवान् गणेशको पूजा–अर्चना र व्रत बसेमा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात भगवान् गणेशको पूजा गरेर गर्ने परम्परा रहेको धर्मग्रन्थमा उल्लेख छ।

मंगलबारलाई भगवान् श्रीगणेशको प्रिय दिन मानिन्छ। शुद्ध मनले यस दिन पूजा–आराधना तथा व्रत गरे मनोकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ।

शास्त्रमा उल्लेखित गणेशपूजाको विधि १६ अंगमा विभाजित गरिएको छ, जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य–दक्षिणा, आरती र परिक्रमा समावेश छन्। पूजा गर्नुअघि शुद्ध र एकाग्र मनले संकल्प लिनु उत्तम मानिन्छ।

धर्मशास्त्रका अनुसार मंगलबारका लागि केही कार्य बर्जित गरिएका छन्। यस दिन पशु–पंक्षीको हत्या, मासु तथा मदिरा सेवन गर्नु प्रतिकूल मानिन्छ। त्यस्ता कार्यले जीवनमा समस्या निम्त्याउने तथा क्रोध र असन्तुलन बढाउने उल्लेख शास्त्रमा पाइन्छ।

पद्यपुराणमा वर्णित कथाअनुसार गणेशजीलाई लड्डु अत्यन्त प्रिय मानिन्छ। सो कथा अनुसार माता पार्वतीको भक्तिप्रतिको सम्मानस्वरूप गणेशजीलाई लड्डु अर्पण गर्ने परम्परा स्थापित भएको धर्मग्रन्थमा उल्लेख छ।

‘ग’ बुद्धिको प्रतीक र ‘ण’ ज्ञानको प्रतीक भएकोले गणेश भगवान् बुद्धि र ज्ञानका अधिष्ठाता देवता मानिन्छन्। उहाँलाई विघ्नहर्ता ‘विघ्नेश्वर’ तथा सर्वश्रेष्ठ नायक ‘विनायक’ नामले पनि चिनिन्छ।

गणेश भगवानको पूजा गर्दा जपिने केही प्रमुख मन्त्रहरूमध्ये ‘श्री गणेशाय नमः’, ‘ॐ गं गणपतये नमः’, ‘ॐ सिद्धि विनायकाय नमः’, ‘ॐ वक्रतुंडाय नमो नमः’लगायतका ११ मन्त्र जप्दा शीघ्र कृपा प्राप्त हुने विश्वास रहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्