Logo

मंसिर ४ पछि एमाले सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ: पोखरेल



काठमाडौँ, २३ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ चुनावपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

आफ्नो सरकार बनेपछि जनताको लोकप्रिय काम गर्दै वृद्धभत्ता बढाएर पाँच हजार पुर्‍याउनेसमेत उनले उद्घोष गरे । काठमाडौँको धापासीमा बुधबार ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्ध-वृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए । ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले मात्रै भएको पनि उनले दोहोर्‍याएका छन् ।

केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पु¥याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ । ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताए ।

आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्