Logo

मकवानपुरमा ३३ केजीको अजिङ्गर भेटियो



मकवानपुर, १६ असार । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ ।

अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । स्थानीय श्यामबहादुर राईले भने,“अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ ।”

लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिङ्गर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३३ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए । पौडेलले भने,“अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्