मकवानपुर, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए ।
काठमाडौँबाट हेटौँडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको हेटौँडाका अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनाग्रस्त हुँदा काठमाडौँ जाँदै गरेको मधेस प्रदेश-०३-००१ ज ०२७१ नम्बरको जीपमा ठोक्किएको जनाइएको छ ।






