काठमाडौँ, २० भदौ । पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ ।
कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो ।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।
उनले भने, “कार्यदलले आफ्नो काम भोलिसम्म टुङ्ग्याउँछ र प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ । सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको छ ।”
दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने सचिव जोशीले बताए । कार्यदलको बैठक भोलि साँझ ६ बजे पुन: बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने जनाइएको छ ।







