Logo

मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा



काठमाडौँ, १ फागुन । यातायात व्यवसायी तथा मजदुरहरूले मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् ।

ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि छ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध सोमवार सडकमा प्रदर्शन गरेका उनीहरूले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका हुन् ।

आज उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै गाडी तेर्स्याएर प्रदर्शन गरेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले निकालेको संयुक्त विज्ञप्तिमा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्सेका कर्मचारीसहित ३० जनाले मजदुरमाथि हातपात गरकाले प्रदर्शन चक्काजाम गरेको उल्लेख छ ।

आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीभन्दा प्रहरीले उल्टै मजदुरमाथि बल प्रयोग गरेको उनीहरूको आरोप छ ।

सुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिबाना बढी भएको भन्दै विरोध भएको र यातायात व्यवसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए ।

उनका अनुसार मजदुरले माइक्रोलाई पनि बस पार्कभित्र लान पाउनुपर्ने मागसमेत राख्दै आएका छन् । यही विषयमा बसपार्कमा भएको विवादका कारण झडप भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्