Logo

मच्छिन्द्रलाई हराउँदै त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा



बिर्तामोड, २३ फागुन । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वार्टर फाइनल खेलमा मछिन्द्र फुटबल क्लबमाथि २-१ गोल अन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् ।

खेलको ६१औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याएको थियो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीन जना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।

जितसँगै झापा गोल्ड कपको चार पटकको विजेता आर्मी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । पहिलोपटक सहभागी भएको मछिन्द्र क्वार्टर फाइनलबाटै घर फर्किएको छ ।

खेलको प्लेयर अफ दि म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायतले नगद ११ हजार र ट्रफी प्रदान गरेका थिए ।

१० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । १ करोड ४० लाख खर्च हुने अनुमान गरिएको गोल्ड कपमा झापा ११ एफसीले बिहीबार एन्फा मकवानपुरसँग अन्तिम क्वार्टर फाइनल खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्