सुनसरी, १५ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सुनसरी क्षेत्र नं.४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आउँदा दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं.४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीसँग कुरा मन्त्री कार्कीले आउँदा दिनमा सुनसरी-४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताए ।
उनले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आउँदो पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताए ।
मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने बताए । उनले भने, ‘मतदाताले मलाई जुन विश्वासका साथ निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई म अरू अभिवृद्धि गरेर लिएर जान्छु । उहाँहरूको विश्वासलाई म घात गर्ने छैन । यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले यो क्षेत्रमा धेरै काम गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ । म पाँच वर्षको कार्यकालमा अझ बढी काम गर्नेछु ।’







