भद्रपुर, २८ वैंशाख । मौन अवधिमा भद्रपुरका मतदातालाई प्रभावित पार्न जिन्सी सामग्री बाँड्न लागेको भन्दै गाउँलेले एउटा ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् ।
भाँडाकुँडा, प्याष्टिकको कुर्सी र टेबल लोड गरेको मे १ त २०८७ नम्बरको ट्याक्टर बुधबार दिउँसो भद्रपुर नगरपालिका-७ स्थित बुधकरण चियाबगानका १० क्वाटरतर्फ गएको थियो ।
बगानमा मजदुरी गरी बस्ने सन्थाल समुदायका मतदातालाई बाँड्न ती सामाग्री ट्याक्टरमा हालेर लगेको स्थानीय बासिन्दा बताउँछन् । त्यसपछि स्थानीयले सामग्री बाँड्नुअघि नै ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।
ट्याक्टर चालकलाई सोधपुछ गर्दा ती सामग्री राजनीतिक दलका उम्मेदवारले बगानतर्फ पठाएको उपस्थित गाउँलेसमक्ष उनले स्वीकार गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले मतदातालाई बाँड्न लगिएको सामग्रीसहित ट्याक्टर नियन्त्रणमा लिएको विषयमा केही जानकारी नआएको बताए । नियन्त्रणमा लिएका सामग्री प्रहरी कार्यालयमा अहिलेसम्म आई नपुगेको उनको भनाइ छ ।