Logo

मतदानमा ‘के गर्न हुन्छ, के गर्न हुँदैन ?’



काठमाडौँ, ३० वैशाख । निर्वाचन आचारसंहिता, २०७८ ले मतदानको दिन आज मतदान केन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ ।

अचारसंहितामा उल्लेख भएअनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा व्याच लगाउन पाउने छैनन् ।

राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको साङ्केतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन हुँदैन । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवं आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पनि नहुने व्यवस्था गरेको छ ।

यसैगरी मतदाताले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटरजस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान पाउने छैनन् ।

कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार पैmलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने आचारसंहितामा उल्लेख छ ।

कसैको दल वा उम्मेदवारको झण्डा वा चिह्न अङ्कित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने तथा कसैको पक्ष विपक्षमा सामाजिक सञ्जालमार्फत कुनै कुरा प्रकाशन प्रसारण र सम्प्रेषण गर्न नहुने व्यवस्था आचरसंहितामा छ ।

आयोगले आज मतदानस्थल तथा मतदान केन्द्रमा उपरोक्त व्यवस्था कडाइसाथ कार्यान्वयन गर्न÷गराउन सबै मतदान अधिकृतलगायत मतदान कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

मतदान गर्न जाँदा पालना गर्नुपर्ने आचरण
मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्नसक्ने आयोगले जानकारी गराएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाणपूर्जाको सक्कल प्रमाणको आधारमा मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था गरेको छ तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिन स्पष्ट निर्देशन आयोगबाट छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै अवाञ्छित कार्य कहीँकतैबाट भएमा कानुनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्