काठमाडौँ, २९ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्रीलाई मन्त्रिमण्डलबाट हटाएका छन् । मुख्यमन्त्री राउनले माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीलाई भने हटाएका छैनन् ।
सत्तागठबन्धनबाट जसपा बाहिरिए पछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसका प्रतिक्रिया स्वरुप जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा मन्त्री रहेका तीन जनालाई हटाएका हुन् ।
काँग्रेसबाट सरकारमा रहेका मन्त्रीले राजीनामा नदिए पछि मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मालाई बर्खास्त गरेका छन् ।
मधेस प्रदेश सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव रहेका छन् ।







