जनकपुरधाम , २५ जेठ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंहलाई आज नियुक्त गर्नु भएको छ ।
नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनु भएको छ ।
मधेश प्रदेशमा रहेको नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ जना प्रदेश सभाका सदस्यहरुले हस्ताक्षर गरेर आज बिहान बुझाएपछि प्रदेश प्रमुख भण्डारीले नियुक्त गर्नु भएको हो ।
मधेश प्रदेशमा रहेको १०७ जना प्रदेश सभाका सदस्य मध्ये बहुमतका लागि ५४ जनाको समर्थन मुख्यमन्त्रीमा नियुक्तिका लागि आवश्यक रहेको छ ।
यसै बीच नवनियुक्त मुख्यमन्त्री सिंहलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय भएको छ । आजै सानो आकारको मन्त्री परिषद् गठन संगै शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।






