Logo

मधेसमा कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ: निधि



धनुषा, ७ वैशाख । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेसमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घको ५४औँ स्थापना दिवसका अवसरमा नेविसङ्घको धनुषा जिल्ला कार्यसमितिले बुधबार आयोजना गरेको ‘शिक्षा प्रणालीमा सुधार विषयक’ विचार गोष्ठीमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले मधेस कांग्रेसका लागि आधारभूमि रहेकाले कांग्रेसको अभिभावकत्वबिना सरकार अधुरो रहने बताए ।

उनले आफ्नै नेतृत्वमा सरकार बनाउने र पाँच वर्षपछि हुने निर्वाचनमा पनि त्यसको तयारीमा जुट्न नेविसङ्घका साथै नेता कार्यकर्तालाई आग्रह गरे । नेता निधिले हालको गठबन्धन अगामी पाँच वर्षसम्म यथावत रहनुपर्ने पक्षमा आफू रहेको बताएका हुन् ।

वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा तनहुँ-१ र चितवन-२ मा कांग्रेसका र बारा-२ मा गठबन्धनका उमेदवार जिताउन नेविसङ्घसहित नेता कार्यकर्तालाई परिचालित हुनसमेत आग्रह गरेका छन् ।

मुलुकको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै उनले शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा जोड दिए । नेता निधिले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्