जनकपुरधाम, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् ।
उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् ।
मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै सांसदले विश्वासको मत दिए । नागरिक उन्मुक्तिकी सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए ।
जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले सर्मथन फिर्ता लिएको थियो । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस गरेका थिए । उनले आफ्नो कार्यकालमा दोस्रोपटक विश्वासका मत लिएका छन् ।
उनको प्रस्तावमा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, नेपाली कांग्रेसबाट कुमरकान्त झा, जसपाबाट लालबाबु राउत, जनमत पार्टीका सांसद चन्दन सिंह, लोसपा दलका नेता अभिराम शर्मा, माओवादी केन्द्रबाट युवराज भट्टराई, एकीकृत समाजवादीका कनिश पट्टेल, नेपाल संघीय समाजवादीका विमला अन्सारी, राप्रपाकी सांसद कञ्चन बिच्छा, स्वतन्त्र सांसद अनुरुद्धप्रसाद सिंह र प्रमोद जयसवालले रोस्टमबाटै सर्मथन रहेको घोषणा गरेका थिए ।







