जनकपुरधाम, २० असार । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बिमा कार्यक्रम पुनः सुरु भएको छ ।
सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बिमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए ।
यसअघि, प्रभु बैंकसँग सम्झौता गरी छोरीहको बिमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उनले बताए । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
गत २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरूको लागि सुरू गरिको बिमा २० वर्षपछि तीन लाख रुपैयाँ दिनेगरी प्रतिबिमा ३७ हजार ४५७ मधेस सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बिमा’ २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् ।