काठमाडौं, २१ चैत । नेपाल प्रहरीले गुण्डागर्दीविरुद्ध विशेष अभियान सुरु गर्दै राजधानीमा धमाधम पक्राउ गर्न थालेको छ। नयाँ सरकार गठनपछि सक्रिय बनेको प्रहरीले आपराधिक गतिविधि नियन्त्रणमा कडाइ गरेको हो।
अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंको संयुक्त प्रयासमा शुक्रबार राति मात्रै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पक्राउ पर्नेहरूमा अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ र किमजोङ बोससहित अन्य व्यक्तिहरू रहेका छन्।
यसैगरी प्रहरीले विभिन्न क्षेत्रमा सक्रिय समूहका सदस्यहरूलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। बाफल, कलंकी र स्यूचाटार क्षेत्रबाट थप चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले गुण्डागर्दी मात्र नभई सरकारी कार्यालयहरूमा सक्रिय बिचौलियाविरुद्ध पनि निगरानी बढाएको जनाएको छ। बिचौलियाको गतिविधिबारे गुनासो बढेपछि सो क्षेत्रमासमेत कडाइ गरिएको प्रहरीले जनाएको छ।






