Logo

मनकामना विद्यालयका विद्यार्थीद्वारा कृषिथोक बजारको भ्रमण



बिर्तामोड, २१ कार्तिक । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयले विद्यार्थीलाई कृषिथोक बजारको भ्रमण गराएको छ ।

बिर्तामोड नगरपालिकाको स्थानीय पाठ्यक्रम आचरण सचेतना शिक्षा अन्तर्गत विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुलाई कृषिथोकको अवलोकन गराएको विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले जानकारी दिए ।

स्थानीय पेशा तथा व्यवसाय पाठ अन्तर्गत रहेर परियोजना कार्य स्वरुप उक्त बजारको भ्रमण गरिएको विषय शिक्षक सुजन कठेतले बताए ।

उक्त अध्ययन भ्रमण गर्दा कृषिथोक बजारमा भएका समस्या र त्यहाँ रहेका व्यापारीहरुसँगको अन्तर्क्रिया गर्दा पाठलाई बुझ्न र स्थानीय पेशा व्यवसायलाई बुझ्न अझ सरल र सहज भएको विद्यार्थीहरूको भनाई रहेको थियो ।

बिर्तामोड नगरपालिका-५ मा रहेको कृषिथोक बजार व्यवस्थापन समितिको संयोजकत्व साथै वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईंको संयोजकत्वमा उक्त कार्य सम्पन्न भएको हो ।

करिब ५० जना विद्यार्थीले गरेको भ्रमणमा कक्षा शिक्षक सृजना राईको समेत सहभागिता रहेको थियो । उक्त भ्रमणले विद्यार्थीहरुमा सिक्ने चहाना अझ बढेको र बजारमा भएको समस्याहरुलाई उठान गर्दै प्रतिवेदन वडामा बुझाउने कार्यक्रम पनि रहेको विद्यालयका सहायक प्रधानाध्यापक ध्रुव कुमार गौतमले जानकारी दिए ।

उक्त विद्यालयले बेला बेलामा यस्ता व्यवहारिक ज्ञान दिने गरेको छ । यस्ता स्थलगत भ्रमणले विद्यार्थीमा सिक्ने रुचि र चहानाको बिकास भइ सिकाइ दीर्घकालीन हुने प्रधानाध्यापक ढुङ्गानाले बताए ।

प्रतिक्रिया दिनुहोस्