काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन् ।
शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन् ।
केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए । उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरेका छन् ।
उनले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिए । केन्द्रीय सदस्य केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरीत हुने भएकोले यस बारेमा छलफल गर्न आवश्यक रहेको बताए ।
‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले के का आधारमा सिट बाँडफाँट भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ । यो आधारमा यसरी सिट बाँडफाँट भयो भन्ने कुरा गठबन्धनले स्पष्ट रुपमा जनतालाई भन्नुपर्छ ।’







