
काठमाडौँ, ६ चैत । उपसभामुख इन्दिरा राना मगरले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताएकी छन् ।
विश्व सामाजिक सेवा दिवसका अवसरमा जिपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाज कार्य विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताएकी हुन् ।
“मैले सामाजिक सेवामा लागेको ३४ वर्ष भयो, आफैँ बाँच्न गाह्रो हुने समयमा ट्युसन पढाएर बन्दीको सेवा गरेर सामाजिक सेवामा लागेको हुँ, सामाजिक सेवा भनेको राजनीति पनि हो, कर्तव्य पनि हो”, उनले भन्नि । नाम कमाउनका लागि मात्रै सामाजिक सेवामा लाग्दा बीचमै हराइने उनको भनाइ छ ।
उपसभामुख रानामगरले हरेक धर्ममा सामाजिक सेवाभाव र अनुशासनको मार्गनिर्देशन हुने गरेकाले त्यो कडा अनुशासनलाई पालना गरेर सामाजिक भावमा लाग्नुपर्ने उल्लेख गरिन् । “कृष्णप्रसाद भट्टराई, सिके प्रसाइँ, निर्मल लामाले आफ्ना लागि कहिल्यै सोच्नु भएन, हामीहरु पनि नि:स्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न सक्नुपर्छ”, उनले भन्नि ।






