काठमाडौँ, १८ जेठ । राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन् ।
बुधबार राष्ट्रियसभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको स्पष्ट पारेका छन् ।
‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा? इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो। त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो। म सुन्दैछु एमालेको सरकार रे, कसरी दुईवटा पार्टीको सरकार एमालेको हुन्छ’ उनले भने ।
महासचिव भुसालले मनमोहनको नेतृत्वको बाहेक एमालेको गठबन्धनबिना कुनै एकल सरकार नरहेको बताए। उनले सरकारले प्रस्तुत गरेको बजेटले गन्तव्य समातेको पनि बताए । अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भएको बताए ।
उनले भने, ‘दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र २०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घाम जत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र? केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो ।’