
काठमाडौँ, ७ असार । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म मनसुनी प्रणालीको प्रभाव फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले अहिले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्य सफा रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति गण्डकी प्रदेशका केही स्थानमा, कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै, भोलि शनिबार कोशी, बाग्मती र गण्डकी प्रदेशका केही मधेस र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र अन्यत्र पनि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।







