मनाङ, १९ असोज । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए ।
बेँसीसहर-चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका-३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।






