Logo

मनास्लुमा हिमपहिरो: १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा लगियो



काठमाडौँ, १० असोज । मनास्लु हिमालमा सोमवार बिहान गएको हिमपहिरोमा फसेकाहरूको उद्धार कार्यमा खराब मौसमका कारण समस्या भएको छ ।

हिमपहिरोमा परेकामध्ये १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा ल्याइएको र त्यहाँबाट उद्धार गर्न खराब मौसमका कारण समस्या भएको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार हिमपहिरो गएको ठाउँबाट उद्धार गरेर तेस्रो शिविर पुर्‍याइएका १५ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लिन जान हेलिकप्टरले बारम्बार प्रयास गरे पनि खराब मौसमका कारण सम्भव भएको छैन ।

उद्धारका लागि तीन वटा हेलिकप्टर र उद्धारकर्मीहरू सामा गाउँमा तयारी अवस्थामा रहेका उनले बताए । तेस्रो शिविरमा हिमपहिरोको जोखिम नभएको र प्राथमिक उपचार तथा खान बस्नको व्यवस्था छ । तर थप उपचारका लागि उद्धार आवश्यक रहेको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्